‘एलजीबीटीक्यूआई समुदायले पहिचानसहित बाँच्न पाउनुपर्छ’
‘लैंगिक अल्पसंख्यक महिलाहरूको समाजमा हक र अधिकारको प्रत्याभूति कहिले होला ? संविधानमा लेखिएका अधिकारको कार्यान्वयन कहिले होला?’ यी र यस्तै प्रश्नहरूको उत्तर खोज्दै लडिरहेकी एक ट्रान्स जेन्डर महिला हुन्, समता बम। नेपालको दुर्गम भेग डोटीमा जन्मिएकी उनी र उनको परिवार अहिले बसाइँसराइपछि कैलालीको घोडाघोडी नगरपालिकाको सुखरमा बसोबास गर्दैछ। समता अहिले कामको सिलसिलामा काठमाडौंमा नै बस्छिन्। एलजीबीटीक्यूआई समुदायको हकहितको लागि लड्दै आइरहेको ब्लु डाइमन्ड सोसाइटीअन्तर्गतको क्रुजएड्स नेपालको कार्यक्रम संयोजकको रूपमा उनी काम गर्छिन्।
नेपाली समाजले महिला र पुरुषबाहेक अरू कुन लैंगिक अस्तिवलाई खासै महत्त्व दिने गरिँदैन। अझ ७–८ वर्ष पहिलाको समाज अझ यो सम्बन्धमा कम जानकार थियो। गाउँ त्यसमा पनि विकटमा एउटा मध्यमवर्गीय परिवारमा तेस्रो सन्तानको रूपमा समताको जन्म भएको हो। छोराको रूपमा जन्मिएकी उनी बाल्यअवस्थादेखि नै दिदीबहिनीसँग खेल्न, सँगै बस्न रुचाउँथिन्। समतालाई पनि थाहा थिएन, किन उनी आफ्नो जैविक अस्तिवसँग खुस छैन र किन आफैंमा परिवर्तन खोज्दैछु भनेर। उनकोे हाउभाउ परिवर्तन थियो। त्यो समयमा उनले ट्रान्ज जेन्डर महिलाको रूपमा आफूलाई प्रस्तुत गरिरहेको थिइन्।
त्यो समयमा एलजीबीटीक्यूआईसम्बन्धी न जानकारी थियो, न पाठ्यपुस्तकमा नै केही पढाइ हुन्थ्यो। तर रेडियो, एफएम सुन्ने उनीले यसबारेमा थाहा पाउन थालिन्। त्यो समयमा ब्लु डाइमन्ड सोसाइटीबाट पहिचान भन्ने कार्यक्रम बच्थ्यो, त्यो सुन्न थालिन्। के हो, एलजीबीटीक्यू भनेको, के हुन्छ, भन्ने बुझ्न थालेपछि आफू पनि त्यही रहेछु भन्ने थाहा पाए। किशोर अवस्थामा प्रवेश गर्दै गर्दा आफूमा भएका शारीरिक, मानसिक र भावनात्मक परिवर्तनहरू जैविक अस्तित्व (पुरुष)भन्दा पनि महिलाको रहेछ भन्ने ज्ञान हुन थाल्यो। यो बेलामा भ्रममा परिने रैछ। म लैंगिक अल्पसंख्यक समुदायमा पर्ने रहेछु भन्ने ८–९ कक्षामा (१३–१४ वर्ष) हुँदा थाहा पाइन्। ‘आफूले त थाहा पाइन्, अब त्यो कुरा कसरी परिवारलाई भन्ने र समाजलाई भन्ने जस्तो लाग्यो। मैलेभन्दा परिवारको प्रतिक्रिया कस्तो हुन्छ र कुन रूपमा लिनुहुन्छ भन्ने थियो।’ समाजको मूल्य, मान्यता, सम्मानको कुरा आउँछ। यसमा कसरी फिट गर्ने भन्ने दोधार, डर धेरै लामो समयसम्म रह्यो। किनभने उनले अरू ट्रान्स जेन्डर महिलाहरूले परिवारमा भनेर परिवार र समाजबाट बाहिरिनु परेको, भेदभाव, बसाइँ सरेर जानु परेको लगायतका समस्याको बारेमा थाहा पाएको थिइन्। यसले उनलाई थप डर पैदा गरेको थियो।
धनगढीमा बसेर स्नातक पढ्दै गर्दा उनले पहिला आत्मनिर्भर हुन्छु अनि भन्छु भन्ने सोचिन्। सोही क्रममा ब्लु डाइमन्ड सोसाइटीमा काम गर्ने अवसर पाएको उनी सुनाउँछिन्। सोसाइटीले सेभ द चिल्डे«न संस्थाको सहयोगमा यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूको क्षमता अभिवृद्धिमा गर्दै आएको काममा उनले पनि फाइदा लिने अवसर पाइन्। अहिले उनी सेभ द चिल्डे«नअन्तर्गतको ग्लोबल फन्डको सहायतामा ९ जिल्लामा प्रत्यक्ष र अन्य जिल्लामा अप्रत्यक्ष रूपमा सञ्चालन भइरहेको सम्मान गृह कार्यक्रममा काठमाडौंको प्रमुख व्यक्तिको रूपमा काम गर्दै आइरहेकी छिन्। जसले लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य जाँचका साथै बासको पनि व्यवस्था गरेको छ। काठमाडौं, चितवन, वीरगंज, जनकपुर, इटहरी, पोखरा, भैरहवा, नेपालगन्ज र धनगढीमा सम्मानगृह सञ्चालनमा छ। सेल्टर होमको रूपमा सम्मानगृह रहेको छ। मानसिक स्वास्थ्यमा परामर्श दिने, राहत प्याकेजलगायतका काममा सेभ द चिल्डे«नले काम गर्दै आइरहेको छ। क्याटालाइटिक फन्डअन्तर्गत पनि एलजीबीटीक्यूआई समुदाय, यौनकर्मी महिला, लागूपदार्थ सेवनकर्ताहरूको उपचारलगायतमा कामले पिछडिएका महिला वर्गको उत्थान र शक्तीकरणमा काम गर्दै आइरहेको छ।
यस्तै, ग्लोबल फन्डअन्तर्गतको कम्युनिटी स्ट्रेन्थेनिङ कार्यक्रमले स्थानीय तहसम्मको सहकार्यलाई प्राथमिकता दिएको छ। एलजीबीटीक्यूआई समुदायलाई स्थानीय तहको बजेटमा समावेश गराउनका लागि वकालत, गर्ने सहकार्य गर्ने काम भएको छ। जस्तो इटहरी नगरपालिकामा एलजीबीटीक्यूआई समुदायका लागि रेस्टुरेन्टहरू खोलेको छ। स्थानीय सरकारले एलजीबीटीक्यूआई समुदायलाई सहयोग गर्नुपर्छ र अधिकारको प्रत्याभूतिमा काम गर्नुपर्छ भन्ने ग्लोबल फन्ड मान्यता रहेको समता बताउँछिन्। केही सुरुवात त भएको छ तर, राष्ट्रिय जनगणना करिब ९ लाखको संख्यामा रहेको एलजीबीटीक्यूआई समुदायको पहिचान स्थापित गराउन अझै धेरै गर्नुपर्ने बमको भनाइ छ। अझ त्यसमा पनि महिलाले सामना गर्ने चुनौतीलाई चिर्न जरुरी छ। मानवअधिकार वा समानताको दृष्टिकोणबाट अघि बढेको समाज स्थापनाका लागि गणतान्त्रिक मुलुकमा न्यायको शासनकोे परिकल्पना उनी गर्छिन्।
‘हाम्रो संविधान, नीति, नियम, प्रणालीमा सुधार गर्न सके कसैले पनि भेदभाव, हिंसाको सामना गर्र्नु पर्दैन। यसले महिला शक्तीकरणसँगै आर्थिक शक्तीकरणमा पनि सहयोग गर्छ। समान अधिकार पाउनुपर्छ, सबैले आफ्नो क्षमता देखाउने अवसर पाउनुपर्छ। समावेशी समाज होस् र जहाँ सबैको प्रतिनिधित्व होस्।’ उनले देखेको नारी दिवस हो यो कि ‘महिलालाई बिचराको रूपमा भन्दा पनि क्षमताको रूपमा अघि बढ्ने वातावरण दिनुपर्छ।’
**As published in Annapurna Posts' International Women's Day edition, March 8, 2024**